496 जना ले पढेको
पोखरा डायरी !

पोखरा श्रावण १९ । मलाई नेपालि बन्न अझै परिक्षाहरु दिन्नु पर्ने छ । म आफ्नो भाषा सुधार गरौला तर छाला कसरि फेर्ने ??? के कालो वर्ण नेपालि बन्न योग्य छैनन? यो प्रश्न पोखराको लागि हो ।
पंक्तिकारको पोखरा भ्रमण कुनै लेखाइ प्रायोजनको लागि थिएन। बर्षायाम लागेको छ। आकाश सङ्गै फेवाको पानी पनि धम्लिएको छ। अनि बुधवारको सुर्य क्षितिजमा नपुग्दै यो पंक्तिकारको मन पनि धुम्लिसकेको छ । एक समृद्ध सहरका नागरिकहरुले आफ्नै देशका दुर दराजमा बस्ने म लगायतका मेरा सहकर्मी साथीहरुलाई बिदेशी नागरिक झैँ गरेको ब्यबहारले मन खिन्न हुदै थियो ।
प्रतिकुल मौसम र कार्य व्यस्तताको कारण करिब ३ दिन देखि पोखराको एक ४ तारे होटेलको बन्द पर्खाल भित्र बिताएको म र मेरा सहकर्मीहरु बुधवार आकाश खुले संगै सुन्दर नगरी पोखराका सुन्दर पलहरुलाई समेट्ने योजना बनायौ । हामीले डेविस फल ,महेन्द्र गुफा, गुप्तेश्वर महादेव , सेती नदि लगायतका ठाउ घुम्ने योजना साथ् सार्वजनिक बसबाट चढ्यो । यात्रा सहज थियो । पोखराको शौन्दर्यता ,सडक ,सर सफाई तथा शान्त वातावरणले मनलाई लोभ्याई रहेको थियो ।
फेवातालमा एक दिन पहिले नै घुमिसकेकोले बुधवारको घुमाईको लागि हाम्रो प्राथिमिकतामा परेन । हामि चढेको बस गुप्तेस्वर महादेवको मन्दिर अगाडि रोकियो । बस बाट ओर्लिने बितिक्कै सुन्नु परेको पहिलो शब्द हो " ए भैया किधर जाना है ? " सडकमा उभेका ति सज्जनले सो अपमानजनक प्रश्न आफुलाईनै गरेको बुझेपनि नसुनेको जसरि गरे । हामि अगाडि बढ्यौ तर मेरो मनमा भन्ने आफ्नै देशमा हेपिनु परेको महसुस हुन् थाल्यो । यात्रा खिन्न बन्दै गयो । मैले आफैलाई सम्झाउन खोजे ,यस्ता अपमान त् पहिले पनि भएको छ नि । राजधानी सहरमै कयौ चोटि भैया भनेर सम्बोधन गरिएको छ ।
मनमनै सम्झे । गुप्तेस्वर महादेवको मन्दिर घुम्यौ । सडकमा भोगेको अपमानको पिडा गुफा भित्रको शितलताले शान्त भयो । गुफाबाट फर्कदा कयौ सिढिहरुको चधाइले म लगायतका साथीहरु थाक्यौ । एक छिन आराम गर्न बाहिर बसे । सडक पेटिमा पसल थापेकी एक जना बहिनीले " क्या क्या लेना है " भनेर बोलायो । म छक्क परे । सबै संग नेपालीमा कुरा गरिरहेको ति बहिनीले हामि संग हिन्दीमा कुरा गर्यो । अनि मैले आफ्नो छालाको रंग महसुस गरे । म त् कालो पो रहेछु । मेरा सहक्रिहरुको पहिरन र बोलि र ब्यबहार त् ति बहिनीहरुको भन्दा बेग्लै रहेछ ।
एक जना मेरो सहकर्मी साथीले हास्दै बहिनीलाई नेपालीमा जवाफ फ़र्कायौ ,हामि नेपालि छौ । मुख्य सडक देखि मन्दिरको प्रवेश द्वार सम्म दुई तिर समानान्तर रुपमा पसलहरु छन् । पैले पिच्छे हामीलाई सोधिएको प्रश्न थियो " कुछ लेना है तो देख लिज्ये " मन अशान्त हुदै थियो । केहीलाई उत्तर नफर्काई हिडियो भन्ने केहीलाई आफुहरु नेपालि रहेको भन्दै बाहिरीए । यात्राको प्रारम्भिक एक घन्टामै दर्जनौ चोटि आफु नेपालि रहेको प्रमाणहरु देखाउदै हिडे । मनमा पोखरा प्रति घृणा उतपन्न हुदै थियो । तर फेरी आफुलाई सम्झाए , यो केहि दर्जन व्यक्ति अपरिपक्व ब्यबहार देखाउदैमा सिंगो पोखरा नगरी परे रिसाउनु अन्याय हुनेछ ।
हामि सडक पार गर्यौ र डेविस फल हेर्न अगाडि बढ्यौ । भित्र चिर्ने बितिक्कै एक जना दिदिले " इधर सस्ता समान है ,आकार देख सकते हो " भनेर सम्बोधन गर्दै बोलाउनु भो । यस पालि भन्ने मनमा रिशको बदला हासो आयो । त्यो बेला सम्म पोखरामा हरेक मधेशीलाई भारतीय नागरिकको रुपमा देखिएको बुझिसकेको थियो । एक जना साथीलाई भने कति संग प्रतिवाद गर्ने ? राज्यकै माइण्ड सेट नबद ले सम्म यसको सामाजिक प्रभाव त् हुन्छ नि ? भन्दै सम्झाए । खासमा त्यो मैले आफ़ुलाईनै सम्झाएको हो ।
डेविस फलको झरनामा झरेका सेता चम्किला निर्मल पानीको धाराबाट उडेका कणहरुको स्पर्शले मन शान्त बन्दै गयो ।
प्रकृतिको शौन्द्र्यताले मनलाई लोभ्याई रह्यो । समयको चापले गर्दा सुन्दर झरनालाई छोड्दै फर्किनु पर्यो । फर्कने बाटोमा रहेका पसलहरुको दिदि बहिनिहरुले पनि त्यस्तै सम्बोधन गरि रहे । हामि भन्ने मुस्कुराउदै हास्दै आफुहरु संग नेपालीमा कुरा गर्न अनुनय बिनय गरि राख्यौ । मुख्य सडकमा बसको लागि कुरी रहदा बसबाट आवाज आयो " आओ बैठो " यसपाली पनि हासेरै प्रतिकार गरियो । उनको हिन्दि प्रश्नको जवाफ नेपालीमा फर्काए । फरक रुटको गाडी भएकोले बस अगाडि बढ्यो । हामि भन्ने पर्खि राख्यो ।
एकछिनमै एकजना दाई " ए भैया ,गाडि इधर है,जल्दी चाढो"" भन्दै उर्दी जारि गरे । यसपालि भन्ने प्रतिकार गर्न आट आयो । मैले नेपालीमा जवाफ फर्काए । उनि संग भैया भन्नुको कारण सोधे । उनले आफु भन्दा ठुलोलाई भैया भनेको भनेर पन्छिन खोजे । मैले फेरी प्रश्न गरे , उसो भए दाई किन नभन्नु भएको त् ? वहा संग उतार थिएन । उनि चुप लागेपछि मैले पनि धेरै प्रतिकार गर्न उचित ठानेन । गाडि आयो , हामि सेती नदि हेर्न अगाडि बढ्यौ । सुन्दर पोखरा नगरीलाई हेर्दै अगाडि बढे । सेती नदि घुमे । फर्किने बेलामा सहजै गाडी भेटे । यस पालि म चाहि पोखराको एक जना स्थानिय ज्येष्ठ नागरिकको छेउमा बसे । यसपालि मैले संवाद अगाडी बढाएकोले सो सज्जन बृद्धले नेपालीमै कुरा गरे ।
मैले सडक पेटिमा भोगेको अपमान , आफ्नै देशको सिंगो एक समुदाय प्रति रहेको सोचको स्तर र व्यापकता कस्तो छ जाने इच्छाले वहा संगको संवाद स्थापित गरेको थिए । उनलाई पोखराको शौन्दर्य्ता अदभुत रहेको बताए । औपचारिकता पछि उनलाई आफुले पोखराको सडकमा भोगेका कथाहरु सुनाए । उनि हास्दै जवाफ फर्काए सायद भारतीय बुझेर होला । वहाको उतर दिने शैलीमा पनि एक व्यंग झाल्किदै थियो । कुरा अगाडि बढ्दै जादा उनले तराईमा केवल भारतीय मुलका व्यक्तिको बसोवास रहेको दावी गर्नु हुन्थ्यो । उनले सीकिम ,दार्जलिङ्गमा कयौ लाख नेपालि रहेको दावी गर्नुहुन्थ्यो ।
रौतहटका नागरिकलाई भारतीय देखने ति सज्जनले दार्जलिङ्गको नागरिकलाई नेपालि मान्थे ।
मैले खोजेको जवाफ पाईसकेको थिए । मलाई नेपालि बन्न अझै परिक्षाहरु दिन्नु पर्ने छ । म आफ्नो भाषा सुधार गरौला तर छाला कसरि फेर्ने ??? के कालो वर्ण नेपालि बन्न योग्य छैनन? यो प्रश्न पोखराको लागि हो । बस गन्तब्यमा पुग्यो । हामि उर्लियौ ।