66 जना ले पढेको
मधेश प्रदेशकै ठूलो फर्निचर मेला रौतहटमा सुरु

रौतहट माघ ११ । मधेश प्रदेशकै सबैभन्दा ठूलो काठ फर्निचर मेला सुरु भएको छ। एक दशकभन्दा बढी समयदेखि गरुडा नगरपालिका १ जयनगरमा काठबाट बन्ने विभिन्न फर्निचरहरुको ठूलो मेला लाग्दै आएको छ।
फर्निचर मेलामा सर्लाही, बारा र रौतहटका विभिन्न गाउँबाट फर्निचर व्यावसायीहरु आउने गरेका छन्। मुख्य गरी काठबाट निर्मित फर्निचरको ठूलो बिक्री मेलामा हुने गरेको छ।
एक महिनाभन्दा लामो समयसम्म चल्ने फर्निचर मेलामा पलङ, खाट, कुर्सी र दराज मुख्य आकर्षण हुने गरेको भए पनि घरायसी प्रयोगका अन्य विभिन्न सामग्रीहरु पाइन्छन्।
गाउँघरकै काठ तथा प्लाई वुडको प्रयोगले बनेका अधिकांश फर्निचर निर्माणमा लाग्ने श्रमिक पनि फर्निचर उद्योगका मालिक, आफन्त तथा कम ज्यालाका ग्रामीणहरु हुने भएकाले बजारको तुलनामा मेलामा निकै सस्तो फर्निचर पाउने गरिएको छ।
काठबाट निर्मित फर्निचर सस्तो पाइने भएकोले धेरै ठाउँका ग्राहकहरु फर्निचर मेलामा पुग्ने गरेका छन्। जयनगर फर्निचर मेलाबाट काठमाडौँ, जनकपुर, पोखरा, वीरगंजका साथै सर्लाही, रौतहट र बाराका विभिन्न गाउँमा काठे फर्निचर पुग्ने गरेको छ।
साथै भारतको विभिन्न ठाउँसम्म पनि मेलाबाट घरायसी प्रयोजनका लागि ग्राहकहरुले फर्निचर लैजाने गरेको बुझिएको छ। मेलामा करिब दश करोड रुपैयाको फर्निचर बिक्री हुने गरेको स्थानीयको भनाइ छ।
हरेक वर्ष मेलाको विस्तार हुँदै गएको छ। फर्निचर मेलाले गाउँको मान बढाएको वडाध्यक्ष शेख ओहावले बताएका छन्। श्रीपञ्चमीको एक दुई दिन पहिलेदेखि एक महिनाभन्दा लामो समयसम्म फर्निचर मेला चल्ने गरेको वडाध्यक्ष ओहावको भनाइ छ।
गौर–चन्द्रनिहापुर मुख्य सडक खण्डसँगै लाग्ने काठे फर्निचर मेलाबाट फर्निचर व्यावसायी तथा उद्योगीहरुले पनि राम्रो आम्दानी लिने गरेका छन्। फर्निचरको एक मुष्ठ बिक्री हुने गरेकाले व्यावसायीलाई फाइदा हुने गरेको एक व्यावसायीको भनाइ छ।