296 जना ले पढेको
रौतहटको पीडामा समृद्धिको तृष्णा !

रौतहट श्रावण २१ । तटबन्धन व्यवस्थित नभएको कारण बागमती र लालबकैया गरी दुईवटा ठुला नदिले पनि समय-समयमा रौतहटबासी संग चरम दुखदायी व्यवहार गर्छन्। हरेक पटक रौतहटबासीको तृष्णाले चुनाबी आसवास्न मात्र पाउछ। प्रतिनिधि सभा र प्रदेशमा निर्वाचित हुने लगतै धेरै जसो नेता महोदय आँखाचिम्म गरेर जिल्लामा केहि समय दिन्छन्। कोही नेता जीत पछि जिल्ला पनि फर्किदैन। नवनिर्वाचित स्थानीय जनप्रतिनिधिबाट यसपटक पनि स्थानीय नागरिक आशाबादी छन्। रौतहट समृद्धिको तृष्णाले पाउने कदर एक चुनाब पछि अर्को चुनाबसम्म थाति रहेको छ।
रौतहटका कतिपय बालबालिकलाई विधालय कस्तो हुन्छ भने थाहा छैन्। कानुनी तवरमा माध्यमिक तहसम्म शिक्षा निशुल्क हो साथै दिवा भोजनको पनि व्यवस्था छ। तर कुनै विधालयमा व्यवस्थापनको कानुन मिचाईको त्रासले उनीहरु शिक्षाबाट बन्चित भए। कतै गरीबीले ग्रसित बालबालिका घरको कामकाज र दैनिक जीवोपार्जनमा लागेर विधालय जाने भाग्य बिहिन भएका छन्। निम्नवर्गको लागि उच्च शिक्षाको अपेक्षा कल्पना मात्र रहयो। मेडिकल, ईन्जिनियरिङ, सीए, पत्रकारिता, कृषि, आईटी, सीटीइभीटी तथा उच्च तहसम्मको अन्य अध्यनका लागि जिल्ला बाहिरीनुको बिकल्प छैन्। देशका ६१ जिल्ला साक्षर घोषणा हुँदा मधेस प्रदेशका ८ जिल्ला मध्यका कुनै एक पालिका समेत पनि साक्षर घोषणा सूचिमा परेनन्।
स्वास्थ्य स्थितीको दैनियता रौतहटबासीको बाध्यता भईसक्यो। कतिपय बिरामी अस्पातल नहेरी महाप्रस्थान हुन्छन्। कोही अस्पताल पुगेर पनि उपचार अभावको शिकार बन्छन्। सरकार द्वारा घोषणा गरिएको सहुलियत स्वास्थ्य बिमा पनि कागजी योजनामा मात्र सिमित छ। साधन स्रोतको अभावमा शारीरिक रुपमा दुर्बल, असहाय तथा जेष्ठ नागरिक ओछ्यानबाटै महाप्रस्थान भएको संख्या पनि दुख्दछ। कतिपय नवजात शिशु र सुतकेरीहरु पौष्टिक आहारबाट बन्चित रहेको देखिन्छ।
रौतहट जिल्लाको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्र आधुनिकिकरण र व्यवसायीकरण होला, साथै लोप भइरहेका बालिहरुलाई संरक्षण तथा बालि विस्तार हुने “आशा” किसानको “आँशु” बन्यो। किसानले पाउने सहुलियत पहुचबाला गैर-किसान संग सिमित रहयो। आधुनिक युगमा पनि अकाशे खेतीको भर तथा समयमा मल नपाएर बालि नाश भएको मर्ममा किसानले “बिचरा” शब्दबाट सहानुभूति पाएका छन्। गाँस दिने किसानको मुखको गाँस खोसिन्छ अनि राजनीतिक नारा बन्छ।
युवाहरुले नशालु पदार्थ सेवन गर्नु, लुटपाट तथा झै-झगडा गर्नु यी सब बेरोजगारीमा रहेको खाली दिमागको काम हो। बेरोजगार युवा समाजको लागि घातक हतियार हुनसक्छ भने थाहा हुदाहुदै पनि युवा रोजगारी कागजी योजना मात्र सिमित रहयो। रोजगारीको खोजीमा धेरै जसो युवा रौतहटबाट पलायन भए।
विपन्न तथा असहाय रातभरी वर्षायाममा घरको छानोबाट ओछ्यानमा चुहिएको पानी थापेर बस्छन्। शुद्ध खानेपानीको अभाव, अव्यवस्थित नालाको फोहर र दुर्गन्धको परिवेशमा बस्न बाध्यछन्। अतिअशक्त तथा अपांगता भएका व्यक्तिको जीविकोपार्जनका लागि कल्याणकारी योजना चुनाबी भाषणमा मात्र सिमित छ। महिला अधिकार नारीदिवसमा र बालअधिकार बालदिवसमा मात्र सम्झेको देखिन्छ। हत्याहिंसाको प्रभुत्व भएको जिल्ला रौतहट, जहॅा सुरक्षा र सामाजिक न्याय माथि चर्को भाषण गरीन्छ।
रौतहट नराम्रो व्यक्तिको नेतृत्वले श्रापित भएको होईन, समाजमा रहने असल व्यक्तिहरु सक्रिय नभएर श्रापित भएको हो। अदभूत सुगन्ध दिने कस्तुरी मृगको घॅाटीमा हुन्छ तर मृगले वनभरी खोज्दै डुल्छ। रौतहटबासीले चाहेमा एक मन्त्रले पीडारुपी श्रापबाट मुक्ति पाउछन् र समृद्धिको तृष्णा पनि मेटाउन सक्छन्। त्यो मन्त्र हो “लालच, दबाव र त्रास रहित बौद्धिक मतदान”।
अनिमेश कुमार मिश्र
सचेत नागरिक, गौर नगरपालिका-१