75 जना ले पढेको
बारा संग जोडिएको भारतीय साना नाकाबाट गाडी जान हुने तर, रौतहटलाई किन बञ्चित गरियो ?
रौतहट, ३ माघ । नेपाल भारत सीमा क्षेत्र संग जोडिएका स साना बारा जिल्लाको नाकाहरुबाट निर्वाध रुपमा चार पाँग्रे सवारी साधन गएपनि रौतहटका मुख्य नाका बाहेकलाई किन बञ्चित गरियो भने अहिले सर्वसाधारणले सम्बध निकाय माथि प्रश्न तेश्रयाएका छन् ।
मधेश प्रदेश अन्तर्गत झण्डै एकवर्ष पछि बारा संग जोडिएको साना नाकाहरुबाट चार पांग्रे सवारी साधन चल्ने सहमती भएपनि रौतहटको मुख्य नाका बाहेक अन्य क्षेत्रलाई बञ्चित राखिदा स्थानिय बासिन्दाहरुलाई सास्ती खेप्नु परेका हुन् ।
कोरोना कालको संक्रमण पश्चात मधेश प्रदेश संग जोडिएको सम्पूर्ण नाकाबाट सहजरुपमा गाडी आउजाउ गर्दै आएकोमा पाकिस्तानी महिला सीमा हैदर स्थलमार्ग हुँदै भारत गएदेखि देखि भारतीय सुरक्षाकर्मीले मधेश प्रदेश संग जोडिएको साना नाकाहरुबाट चारपांग्रे सवारी साधन आवात जावतमा रोक लगाएको थियो ।
भारतको राजधानी दिल्ली स्थित चार दिन अघि भारतीय सुरक्षाकर्मी एसएसबिको प्रधान कार्यालयको निर्णय अनुसार बारा संग जोडिएको तीनवटा साना नाकाबाट चारपांग्रे गाडी चल्ने अनुमती दिएको छ । तर रौतहटको सदरमुकाम गौर बाहेक सीमा संग जोडिएको कुनै पनि साना नाकाबाट गाडी आवतजावतको लागि हालसम्म अनुमती दिइएको छैनन् ।
बाराको कचोर्वा हुँदै भारतको झरोखर–घोडासन, बाराको मटिअर्वा सन्तगन्ज, महुअवा कटगेनवा अदापुर नाकाबाट गाडि आउने जाने अनुमति दिएको भारत बिहार मोतीहारी जिल्लाका एसपी कान्तेश मिश्राले बताए ।
एसपी मिश्राले रौतहटको सानो नाकाबाट गाडी आवत जावत बारे हालसम्म निर्णय हुन नसकेपनि त्यसबारे छलफल भईरहेको जानकारी दिए । रौतहटका सिडियो हिरालाल रेग्मीले रौतहटको साना नाकाबाट गाडी चल्ने निर्णय बारे आफूलाई जानकारी नभएको र यस बारे भारतीय समकक्षी संगको बैठकमा प्रस्ताव राखेर पहल गर्ने प्रतिवद्धता जनाए ।
नेपाल र भारत बीच सदियौं देखि चलिआएको रोटी बेटीको सम्बन्धमा असर परिरहेको कतिपयको भनाई रहेका छन् ।
जिल्लाको सीमावर्ती बौधिमाई, ईशनाथ, राजपुर, परोहा, गौर, राजदेवी नगरपालिकाको हजारौँ परिवारको छोरा छोरीको वारिपारी बिहेवारी भएको छ । रौतहट स्थित ३२ किलोमिटर लामो भारतीय सिमाना संग जोडिएको नेपाली गाउँका प्रायः सबै मानिस भारतीय बजार माथिनै निर्भर रहदै आएको हुँदा साना नाकाहरु खुल्नुपर्ने धारणा यहाँका बासिन्दाहरुको रहेका छन् ।
घरको लागि दैनिक उपभोग्य वस्तु, कपडा, देखि खेती किसानको लागि चाहिने बीउ, मलखाद्य लागायतका सामग्री भारतीय बजार बाटनै ल्याउने गर्दछन् ।
जिल्ला सदरमुकाम गौर २०–३० किलोमिटर टाढा र सीमापारी भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन ५ किलोमिटर भित्रै परेकाले पनि यहाँका मानिसको घर परिवारमा कसैलाई कुनै बिरामी हुँदा समेत उपचारको लागि भारतीय डाक्टर माथि निर्भर रहेका छन । वारिपारी बिच हजारौँ परिवारको सम्बन्ध भएकाले दैनिकजसो दर्जनौं छोरी बुहारी वारिपारी गर्नुपर्ने बाध्यता रहेको छ ।
साना नाकाहरुबाट गाडी आउजाउ रोक लगाउँदा ३० किलोमीटर टाढा गौर हुँदै भारतीय क्षेत्रमा जानुपर्ने स्थानीयको वाध्यता बनेको छ । तथापि जिल्लाका नेतृत्व बर्गले यो समस्या बारे आवाज उठाउन जरुरी रहेको देखिन्छन् ।